असोज १४,हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिका कमिटीको अन्तिम लेखा परीक्षण सम्पन्न भएको छ। अन्तिम लेखा परीक्षण गर्नुअघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखा परीक्षणसमेत गरेका थिए।
केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले उक्त लेखा परीक्षण गरेका हुन्।
परीक्षणपश्चात् तयार पारिएको लेखा परीक्षण प्रतिवेदन मकवानपुर जिल्ला कमिटीका कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटौँडा नगर कमिटीको प्रतिवेदन उपाध्यक्ष राजकुमार बर्तौलालाई हस्तान्तरण गरिएको छ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकासम्मै लेखा परीक्षण गर्ने व्यवस्था रहेको बताईन्।
परीक्षणका क्रममा लेखाको दोहोरो लेखा प्रणाली अनुसार व्यवस्थित हरहिसाब राखिएको, आम्दानीमा पारदर्शिता र खर्च मितव्ययी पाइएको उनले जानकारी दिईन्।
त्यस्तै, केन्द्रीय लेखा आयोगका अर्का सदस्य नवीन सिग्देलले मकवानपुर जिल्लाले विगतदेखि नै नियम अनुसार हरहिसाब व्यवस्थित गर्दै नियमित रूपमा लेखा परीक्षण गराउँदै आएको बताए।
बागमती प्रदेश मातहतका १० जिल्लाहरूमध्ये मकवानपुर र हेटौँडा उपमहानगरबाटै यस वर्षको लेखा परीक्षणको सुरुआत भएको र यो पहिलो भएको उनले जानकारी दिए। अन्य जिल्ला र पालिकाहरूमा आगामी मङ्सिर मसान्तसम्म लेखा परीक्षण गरिसक्ने योजना रहेको बताउँदै उनले राजनीतिक दलहरूमध्ये पार्टीको आन्तरिक हरहिसाब व्यवस्थित र पारदर्शी राख्ने एमाले पहिलो पार्टी भएको दाबी गरे।
लेखा परीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेश्वर बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला तथा उपमहानगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
लेखा परीक्षणमा प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले प्राविधिक सहयोग पुर्याएका थिए।



