असोज १५, हेटौंडा। मकवानपुर जिल्लामा लागुऔषध कारोबार तथा सेवन विरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा एकै दिन विभिन्न स्थानबाट लागुऔषध, नगद र स्कुटरसहित ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो बुधबार बिभिन्न समयमा खटिएको प्रहरी टोलीले मनहरी र हेटौंडाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पहिलो घटनामा मनहरी गाउँपालिका–९ रजैयाको एक सार्वजनिक स्थलमा लागुऔषध खैरो हेरोइन कारोबार र सेवन भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ, सोही ठाउँका २६ वर्षीय आकाश भुलुन र २३ वर्षीय रोहित ढुंगानालाई ४ ग्राम ८४ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
त्यसैगरी,हिजै बेलुकी हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरस्थित उमेश थिङको घरमा लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा घरको सुत्ने कोठाबाट ३ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।
खानतलासीका क्रममा प्रहरीले सुत्ने खाटको डसनामुनि लुकाइएको डिजिटल तराजु १ थान, बिक्रीबाट आएको ११ हजार रुपैयाँ नगद, कोठामा शंकास्पद रूपमा बसिरहेका हेटौंडा–११ थानाभर्याङ बस्ने ३५ वर्षीय बिमल श्रेष्ठ र उनले प्रयोग गरेको ना ४१ प ६८४४ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
यसैगरी, रातिको समयमा हेटौंडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिबाट प्रहरीले शंका लागेर चेकजाँच गर्दा हेटौंडा–११ थानाभर्याङ बस्ने २० वर्षीय श्रोहित थिङलाई पनि पक्राउ गरेको छ।
ना ३८ प ५६४ नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा उनको साथबाट १० ट्याब्लेट ट्रामाडोल र ६ ट्याब्लेट नाइट्र्राजेपाम फेला परेको थियो।
प्रहरीले उक्त स्कुटर र चालक श्रोहितलाई समेत नियन्त्रणमा लिई पक्राउ परेका सबै ६ जनामाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको जनाएको छ।



