असोज १७, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा दुई महिना अघि भेटिएकी एक युवतीको शवको बारे सफल अनुसन्धान गर्दै दोषीलाई कानूनी दायरामा ल्याएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते फेला परेको युवतीको शवको पहिचान खुल्नुका साथै कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादीलाई भारतीय कारागारमा पुर्याइएको छ।

​२०८३ साउन २२ गते दिउँसो अन्दाजी १:३० बजेको समयमा सेल्फी रोड नजिकैको सामुदायिक वनमा एक महिलाको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सामाजिक सञ्जाल (फेसबुक पेज) मा मृतक महिलाको स्केच, कपडा, खुट्टामा लगाएको बिछिया, कानको मुन्द्रा, हातका लहठी (बाला) र नाकको फुली सार्वजनिक गरेको थियो।

​उक्त विवरणको आधारमा खोजतलास गर्दा मृतक महिला भारत घर भई चितवनको भरतपुर महानगरपालिका वडा नं. ३, बेलचोक (गणेश मार्ग) मा कोठा भाडामा बस्दै आएको खुलेको थियो। उनी भारत घर बताउने वर्ष २७ को राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको साथमा बस्दै आएकी थिइन्।

​घरधनी र भारतीय प्रहरीको समन्वयमा गरिएको स्थलगत बुझाइबाट मृतक महिला भारतको बेतिया, बैरिया थाना सरैया भटवलिया वडा नं. ६ बस्ने वर्ष २२ की अफ्रिना प्रविन (रुची खातुन) रहेको खुलेको छ। उनी गत २०८३ वैशाख ९ गते श्रीमानको घरबाट दाँतको उपचार गर्न भनी ६ महिनाकी छोरीसहित निस्किएकी र त्यसपछि हराएकी थिइन्।

सोसम्बन्धी खोजतलासका लागि उनका आफन्तले भारतको बेतिया प्रहरी थानामा निवेदन दिएका थिए।
​अनुसन्धानको क्रममा निज महिलालाई कर्तव्य गरी मारेको घटनामा प्रतिवादी राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको प्रत्यक्ष संलग्नता रहेको खुल्न आएको छ।

मृतककी आमा फातमा खातुनले गत भदौ ४ गते प्रतिवादीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गराएकी थिइन्।

प्रहरीको अनुसन्धानका क्रममा मृतक महिला र उनकी आमा फातमा खातुनको डीएनए (DNA) परीक्षण गर्दा आपसमा पूर्ण रूपमा मिलेको पुष्टि भएको थियो।

डीएनए मेल खाए पश्चात २०८३ असोज १६ गते मृतकको शव उनकी आमाले बुझिलीसकेकी छिन्।
​हत्याका मुख्य प्रतिवादी राहुलकुमार गुप्ता भन्ने ईश्वर कुमारको सम्बन्धमा भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भई सकेको छ।

उनी हाल अनुसन्धानको सिलसिलामा भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय