असोज १८, हेटौंडा। मकवानपुरको हेटौंडाबाट लागूऔषध खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छिन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा बस्ने ३१ वर्षीया सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले आफ्नो घरमा लागूऔषध लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
आईतवार मध्य राति करिब १२:१५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले तिमल्सिनाको घरमा रितपूर्वक खानतलासी गरेको थियो।
खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाभित्र कपडा राख्ने स्टिलको दराजमा लुकाइराखेको अवस्थामा प्लाष्टिकको एक पुरियामा रहेको ३ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको जनाईएको छ।



