कार्तिक ४,निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ब्रहमबाबा चौर नजिकैको नहरमा ५६ वर्षीय हरिनारायण सहनी मृत अवस्थामा फेला परेका छन्।
स्थानीयवासी हरिनारायण सहनी हिजो ३ गते राति मृत अवस्थामा रहेको देखेपछि निजका छोरा राम विनय सहनीले आज बिहान करिब ०६:०० बजे नहरबाट शव निकालेर डिलमा राखेका थिए।
त्यसलगत्तै बिहान ०६:२० बजे इलाका प्रहरी कार्यालय जितपुरलाई खबर गरिएको थियो।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश निरौलाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित बनाएको थियो।
त्यसैगरी, घटनाको प्रारम्भिक अनुसन्धान तथा सर्जिमिन मुचुल्का तयार पार्नका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा ‘सोको’ (SOCO) सहित ५ जनाको विशेष टोली घटनास्थल पुगेको थियो।
बिहान ०८:१५ बजे घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।
अस्पतालमा पोस्टमार्टम पश्चात् बिहान ११:२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



