कार्तिक ५,सिंगौल। आगामी विक्रम संवत् २०८५ सालको तिहार नेपालीहरूका लागि निकै अनौठो र दुर्लभ रहने भएको छ। तिथिको फेरबदल र बिचैमा पर्ने मलमासका कारण सो वर्ष लक्ष्मीपूजा मनाएको ठीक एक महिनापछि मात्रै भाइटीका मनाइनेछ।

सामान्यतया काग तिहारदेखि भाइटीकासम्मका पाँचै दिन लगातार मनाइने तिहार यस पटक भने बिचमा एक महिनाको अन्तरालपछि मात्रै बाँकी पर्वहरू मनाउने गरी धकेलिएको छ।

वि.सं. २०८५ को कात्तिक १ गते औंसीका दिन लक्ष्मीपूजा मनाइनेछ। तर, त्यसको भोलिपल्ट अर्थात् कात्तिक २ गतेबाटै एक महिना लामो मलमास (अधिकमास) सुरु हुने भएकाले तिहारका बाँकी पर्वहरू पछि सरेका हुन्। कात्तिक २ गतेदेखि सुरु हुने मलमास मंसिर १ गतेको अघिल्लो दिनसम्म कायम रहनेछ।

मलमास समाप्त भएपछि मात्रै मंसिर १ गते गोवर्धन पूजा तथा म्ह पूजा गरिनेछ भने मंसिर ३ गते मंसिर शुक्ल द्वितीयाका दिन भाइटीका (किजा पूजा) मनाइनेछ।

मलमास भनेको के हो?

सूर्य र चन्द्रमाको वार्षिक चक्रलाई सन्तुलनमा राख्नका लागि हिन्दू पञ्चाङ्गमा प्रत्येक ३२ महिना, १६ दिन र ४ घडी (लगभग ३ वर्ष) मा एउटा अतिरिक्त महिना थपिने गर्दछ, जसलाई मलमास, अधिकमास वा पुरुषोत्तम मास भनिन्छ।

खगोलीय गणना अनुसार सूर्यको वरिपरि पृथ्वीले गर्ने परिक्रमाका आधारमा तय हुने सौर्य वर्ष ३६५ दिन, ५ घण्टा र ४८ मिनेटको हुन्छ भने पृथ्वीको वरिपरि चन्द्रमाको परिक्रमामा आधारित चान्द्र वर्ष ३५४ दिन, २२ मिनेट र १ सेकेन्डको मात्र हुन्छ।

यसरी सौर्य वर्षभन्दा चान्द्र वर्ष हरेक वर्ष करिब ११ दिनले छोटो हुने भएकाले तीन वर्षमा यो अन्तर ३३ दिन अर्थात् करिब एक महिनाको पुग्छ। यही भिन्नता मिलाएर मौसम र ऋतु अनुसार चाडपर्वहरू सही समयमा कायम राख्नका लागि पञ्चाङ्गमा अधिकमास थप्ने वैज्ञानिक प्रणाली छ।

पञ्चाङ्गको नियम अनुसार जुन चान्द्र महिनाभित्र सूर्यको संक्रान्ति अर्थात् सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रिया हुँदैन, त्यही महिनालाई मलमास मानिन्छ। सामान्यतया मलमास दुईवटा चाडपर्वको बिचमा वा पर्वहरू सुरु हुनुभन्दा अघि पर्ने गर्दथ्यो।

तर, वि.सं. २०८५ सालमा भने लक्ष्मीपूजा सकिनेबित्तिकै र गोवर्धन पूजा सुरु हुनुभन्दा अघि तिहारकै बिचमा मलमास पर्न आएको छ। यस्तो अभूतपूर्व र दुर्लभ संयोग करिब १६० वर्षपछि पर्न लागेको हो।

​धार्मिक मान्यता अनुसार मलमासलाई मलीन वा अशुद्ध महिना मानिने भएकाले यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ व्यवसायको सुरुवात तथा कुनै पनि नयाँ मांगलिक कार्यहरू गर्न वर्जित गरिन्छ।

तथापि, यो महिनालाई भगवान विष्णु अर्थात् पुरुषोत्तमको आराधनाका लागि भने अत्यन्तै उत्तम मानिन्छ। त्यसैले मलमासको अवधिमा गरिने पूजापाठ, दानपुण्य, नामजप र तीर्थयात्राको विशेष धार्मिक महत्त्व रहने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय