कार्तिक ९, निजगढ।बारामा भएका दुई फरक-फरक घटनामा एक वृद्ध र एक बालकको मृत्यु भएको छ।

पहिलो घटनामा कोल्हवी नगरपालिका–२ निकास टोलस्थित खेतको डिलमा नाम, थर र वतन नखुलेका अन्दाजी ६०-६२ वर्षका पुरुष अचेत अवस्थामा फेला परेका थिए।

जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले निजलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएकोमा उपचारकै क्रममा साँझ १७:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान अझै खुल्न सकेको छैन। कालो वर्ण, करिब ५.६ फिट उचाई, सेतो कपाल भएका, सेतोमा हरियो धर्सा भएको गम्छा घाँटीमा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङ्गको धोती लगाएका ती व्यक्तिको दाहिने हातको नाडीमा रातो धागो र साइँली औंलामा औंठी रहेको छ।

उनको शव अस्पतालमा सुरक्षित राखिएकोले चिन्ने वा आफन्त हुनेले जिल्ला प्रहरी कार्यालय बारामा १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

​यसैगरी, अर्को घटनामा विश्रामपुर गाउँपालिका–५ इटियाहीमा विषालु कोब्रा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

भारतको बिहार पूर्वी चम्पारण पकडिया घर भई हाल मामाघरमा बस्दै आएका गजेन्द्र प्रसाद पालका ४ वर्षीय छोरा आदित्य प्रसाद पाल मामाघर अगाडि खेलिरहेको बेला साँझ १७:३० बजे बायाँ खुट्टामा विषालु कोब्राले डसेको थियो।

गम्भीर घाइते बालकलाई नारायणी अस्पताल वीरगन्ज पुर्‍याइएलगत्तै चिकित्सकले जाँच गर्दा साँझ १८:०० बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

प्रहरी चौकी मुसहरवाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरेको छ भने बालकको शव मामाले अस्पतालबाट घरमा ल्याएर राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय