हेटौंडा । सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरुद्ध राष्ट्रिय युवा संघ नेपालले बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

आइतबार साँझ हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा मोटरसाइकल तथा स्कुटर धकेलेर राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले मूल्यवृद्धिको विरुद्धमा विरोध प्रर्दशन गरेको हो ।

विरोध र्‍यालीमा ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महंगी भ्रष्ट्राचार नियन्त्रण गर, ए सरकार तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार जनता लुटिने कहिले सम्म ? दलालहरू होसियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर’ लगाएतका नारा लेखिएको प्ले कार्डसहित युवा संघका नेता कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका थिए ।

र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने भन्दै सरकारलाई चेतावनीसमेत दिए ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटीका कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थसँगै अन्य पदार्थको पनि मूल्यमूल्यवृद्धि गरेर आम उपभोत्ताको ढाड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

प्रर्दशनी कार्यक्रममा नेकपा( एमाले) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायत युवा संघका कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय