२३ भदौ । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो । १ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँमा कारोबार भएको जिरा वैशाखमा प्रतिकिलो ८५० रुपैयाँ थियो ।
अहिले होलसेलमा जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । भदौ महिनाका लागि नेपाल खुद्रा व्यापार संघले जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।
भारतमा जिराको उत्पादनमा ह्रास आएपछि जिराको मूल्य बढेको व्यापारीहरुको दाबी छ । जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैं जिरा आयात गरिरहेको होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्ता श्रेष्ठका अनुसार भारतमा मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको समस्या हो ।



