भदौ२३,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी तेस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । असोज ७ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेश र बिदेशगरी १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिदेशबाट भारतको दार्जिलिङ, कलकत्ता र बंगलादेश भेट्रान्स फूटबल क्लब तथा नेपालको चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, नवलपरासी, सिमरा, विराटनगर लगायत १२ वटा भेट्रान्स टिमको सहभागिता रहने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले शनिवार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



