भदौ २८,काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।
नेपाल चिकित्सक सङ्घको ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका सङ्घका उपाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जो कोहीलाई उन्मुक्ति नदिने प्रतिबद्धता ब्यक्त गरेका बुढाथोकिले बताए।
सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ । बुधबार हेटौँडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा.प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला एक समूहले अस्पताल भित्रै प्रवेश गरि साङ्घातिक आक्रमण गरेको थियो। डाक्टर द्वयलाई जथाभावी आक्रमण गरिएको अस्पतालको सिसिटिभी फुटेजमा देख्न सकिन्छ।



