भदौ २९,हेटौंडा । हेटौंडा अस्पतालका ७८ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिएका छन् । बुधबार हेटौँडा १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट भएको घटनालाई लिएर चिकित्सकहरु आन्दोलित भएका हुन् ।
चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै आन्दोलन गरेपछि अहिले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्नुपरेको मेसु सापकोटाले बताए।
डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान तथा भतिज अनुप प्रधानलाई पक्राउ गरीसकेकको छ । घटना सम्बन्धमा अनुसन्धान जारी रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए।




