भदौ २९,हेटौंडा । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथी कुटपिट गरेको आरोपमा पक्राउ परेका ४ जनालाई अनुसन्धान गर्न ३ दिन म्याद थप भएको छ। जिल्ला अदालत मकवानपुरबाट ३ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमती प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि लक्ष्मी भण्डारीले बताए।
गत साउन २५ गते हेटौंडा १२ का राजेश प्रधानको मृत्युको बिषयलाई लिएर मृतकका आफन्तसहित केही युवाहरुले बुधबार सञ्चो अस्पतालका दुई चिकित्सकमाथी अस्पताल भित्रै प्रवेश गरि कुटपिट गरेका थिए।सिसिटिभी फुटेजका आधारमा कुटपिटमा संलग्न भएको भन्दै बिहिवार प्रहरीले मृतककी श्रीमती रमा प्रधान,छोरी रमिता,छोरा रोहित र भतिजा अनुप प्रधानलाई पक्राउ गरेको थियो। सिसिटिभी फुटेजमा अन्य मानिसहरु पनि कुटपिटमा संलग्न देखिएका थिए। प्रहरीले मृतकका आफन्तबाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन।



