असोज११,भरतपुर।चितवन शिक्षण अस्पताल(सिएमएस)मा कार्यरत आवासीय चिकित्सकहरुले बिहिवार ‘डाक्टर बचाउ’भन्दै प्रदर्शन गरेका छन्। चिकित्सकहरुले अनाहकमा पिटाई खानु परेको भन्दै सरकारसँग सुरक्षा माग राखी प्रदर्शन गरेका हुन्।

अस्पताल परिसरबाट विभिन्न माग लेखिएको ब्यानर र प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका चिकित्सकहरुले भरतपुरको मुख्य मुख्य ठाँउहरुमा प्रदर्शन गरेका थिए।

उनिहरुले ‘बिरामी बचाउने डाक्टर कसले बचाउने?,’के बिरामी जाँच्न हेल्मेट लाउनु पर्ने हो र?,’बिरामी जाँच्नु हाम्रो धर्म हो,तर हामी भगवान होइनौं, ‘३६ घण्टा ड्युटी गरेर पनि पिटाई खाँदा मन दुख्छ,मन रुन्छ सरकार!,जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

उनिहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म आफुहरुको आन्दोलन नरोकिने बताएका छन् ।
गत सोमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक तथा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरु माथी शृङ्खलाबद्ध आक्रमण भएपछी देशैभरका शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले सेवा ठप्प पारी आन्दोलन गरिरहेका छन्।चिकित्सकहरुको आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदा दैनिक हजारौं बिरामिहरु मर्कामा परेका छन्।



