असोज१५,निजगढ ।१९ वर्ष मुनिको दक्षिण एसियालि फुटबल महासंघ साफ च्याम्पियनसिप २०८०मा उत्कृष्ट प्रदर्शन गरी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्न सफल समीर तामाङलाई गृहनगर निजगढमा सम्मान गरिएको छ। तामाङले खेलमार्फत सिङ्गो देशकै गौरव बढाएको भन्दै उनको गृहनगर बाराको निजगढ नगरपालिका वडा नं ८ कार्यालयले ५१ हजार रुपैयाँ नगद राशिसहित सम्मान गरेको हो।सोमबार ८ नम्बर वडा कार्यालयको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा मधेस प्रदेश फुटबल संघका सदस्य राजकिशोर धामी,निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा लगायतको उपस्तिथि थियो।
आर्थिक दूरवस्थाका कारण क्षमतावान खेलाडीहरु ओझेल नपरुन भनेर हौसलास्वरुप उज्वल भविष्यको कामनासहित तामाङलाई नगद राशिले सम्मान गरिएको वडाध्यक्ष सुवर्ण लामा सोनुले बताए।

निजगढ ८ का वडाध्यक्ष सोनु लामा फुटबलर समीर तामाङलाई सम्मान गर्दै।
असोज ४ देखि १३ गतेसम्म काठमाडौको दशरथ रंगशालामा आयोजित प्रतियोगितामा समिरले माल्दिभ्सविरुद्ध २ तथा भारतविरुद्ध १ गोल गरेका थिए। भारतविरुद्वको खेलमा नेपाल ट्राईबेकरमा पराजित भएपछी नेपालको फाईनल पुग्ने सपना भने तुहिएको थियो।
प्रतियोगितामा पाकिस्तान र भारत फाईनल भिडेका थिए।पाकिस्तानलाई ३-०ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यु-१९ को उपाधी हात पार्यो। भारतले यसअघि सन् २०१९ र २०२२मा बंगलादेशलाई हराउँदै यो उपाधी जितेको थियो।



