असोज १६, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् । भारतीले राष्ट्रपतिको निर्णय विरुद्ध भोलि बुधबारदेखि माइतीघरमण्डलमा रिले अनशन सुरु गर्ने बताएकीछिन् ।उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रिले अनशन सुरु गर्ने बताएकी हुन् । उनले पत्रकार सम्मेलनमा गहभरी आँसु बोकेर राष्ट्रपतिले आफुलाई पहिलाकै जस्तो पीडा भोग्न बाध्य पारेको बताईन् ।
लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पु¥याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् । ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।



