असोज १६,काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई बयान कागज गराएको छ ।
एक प्रहरी उच्च अधिकारीले महरा मंगलबार सीआईबीमा उपस्थित भएर यो प्रकरणमा बयान कागज गरेको पुष्टि गरे ।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको सम्पर्क देखिएको थियो
यो प्रकरणमा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
महराले भने चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको र सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाउँदै आएका छन् ।



