असोज २०,निजगढ।पूर्वपश्चिम राजमार्ग स्थित बाराको निजगढमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक कोल्हबी नगरपालिका ३ जुगवा घर भएका ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् । चौधरीको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान साँढे ८ बजे निजगढ ८ स्थित एक ग्यारेजबाट मर्मत गरेर ‘टेष्ट ड्राईभ’ का लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले बुद्ध चोकबाट करीब सय मिटर पश्चिम तर्फ लच्का नजिकै ठक्कर दिएको थियो ।
बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना३स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।
रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय साम्तेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिराहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।



