असोज २५,काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको र ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । घलानको दाहिने घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि जोरपाटीस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यस्तै घटनास्थलबाट दुईजनालाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा छन् । नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ । दुइवटा मोटरसाइकलसहीत लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो पनी बरामद गरेको छ । सो समूहको साथबाट ९ एमएम पेस्तोल १ थान र ७ राउण्ड गोली पनि बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।



