असोज २५, काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।
लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका थिए ।
तर दोस्रो हाफमा नेपालले पुनरागमन ग¥यो । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले दाोस्रो हाफको सुरुमै आवास लामिछानेको स्थानमा उत्सव राई, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई मैदान पठाएपछि नेपालको खेल सुधारियो । जसको असर खेलमा देखियो र ४८ औं मिनेटमा अञ्जन विष्टले नेपालको लागि बराबरी गोल फर्काए ।
एरिक विष्टको कर्नरमा अञ्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । नेपालको लागि यो उनको कीर्तिमानी गोल हो । अञ्जनले उक्त गोल पछि नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।
बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न सकेन र बराबरीमै चित्त बुझायो । ८२ औं मिनेटमा अञ्जनले क्लोज रेन्जबाट हानेको हेडर लाओसका गोलकिपरले बचाउँदा नेपालले अग्रता लिने अवसर गुमेको थियो । रेफ्रीसँग प्रतिवाद गर्दा लाओसका प्रशिक्षकले ईन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

होम एण्ड अवेको आधारमा हुने प्रारम्भिक चरणको दोस्रो खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ । होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्ने छ ।
लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ । प्रारम्भिक छनोटको विजेताले दोस्रो चरणमा स्थान बनाउनेछ । होम एण्ड अवेमा खेलेपछि नेपाल र लाओसबीचको खेलको विजेता युएई र बहराइन रहेको समूहमा पर्नेछ । यस्तै प्रारम्भिक चरणमा श्रीलंका र यमनबीचको विजेता पनि यही समूहमा पर्नेछ । नेपालले ८ वर्षपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलेको हो ।
२०१५ मा नेपालले भारतसँग दशरथ रंगशालामा खेलेपछि विश्वकप छनोटको खेल खेलेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय