कात्तिक ९। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार साँझ संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा उनी अमेरिकाका विभिन्न राज्यमा हुने विविध कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
पार्टीद्वारा जारी विज्ञप्ति अनुसार भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ। अक्टोबर २८ का दिन उनले मःम महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् भने सोही दिन नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम छ। अक्टोबर २९ मा ड्यालसको करि लिफ ब्यांकेटमा अधिवेशन उद्घाटन हुनेछ।
यसबाहेक केन्टकीका नेपाली समुदायसँग साक्षात्कार गर्ने, ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट र वाशिङटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रियामा सहभागी हुने तालिका छ।
न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया र मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।
भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी छन्। मेरिल्यान्डको कार्यक्रम सकेर अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा स्वदेश फर्किने छ। अमेरिका प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।





