कार्तिक११,निजगढ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ स्थित हलखोरिया साझेदारी वन भित्र शनिबार एकजना पुरुषको शव फेला परेको छ।उक्त शव जीतपुरसिमरा वडा नं १४ रजघट्टाका ४७ वर्षिय रामप्रकाश दहितको भएको खुलेको छ। शव निजगढ -पथलैया सडकखण्डको बालगंगा पुलनजिकै बाट सय मिटर जति दक्षिण तर्फ जंगलमा कोल्टे, घोप्टो परेको अवस्थामा फेला परेको हो।

शनिबार बिहान घाँसदाउरा गर्न गएकाहरुले शव देखेपछी हलखोरिया साझेदारी वन रक्षकलाई खबर गरेका थिए।वन रक्षकले ईलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराएका थिए।
घटनास्थलमा भेटिएका दहितका छोरा सोलभका अनुसार बुवा रामप्रकाश ९ गते विहिवार करीब ११ बजे तिर खाना खाएर घरबाट निस्केका थिए। ‘बुवा सम्पर्कविहिन भएपछी जताततै खोज्यौँ,गाउँको सिसिटिभी फुटेज हेर्यौँ,प्रहरीमा जानकारी गरायौँ’छोरा सोलभले भने।बुवाको कोहीसँग दुश्मनि नभएको उनले बताएका छन्।जंगलभित्र यसरी शव फेला पर्नु शंकास्पद रहेको उनले बताए।’प्रहरीले सत्यतथ्य अनुसन्धान गरोस’सोलभले भने।

घटनास्थलमा वडा नं १४ कि वडाध्यक्ष चयन गुरुङ पनि आएकी थिईन्।’घटनाको बारे यसै भन्न सकिन्न,प्रहरीले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाईहाल्छ नि’,वडाध्यक्ष गुरुङले भनिन्।





