कार्तिक१२,काठमाण्डाै। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन्।

शनिबार राति आइपुगेका गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघिय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा भोलि उनि नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। पर्सि मङ्गलवार दिउँसो ४ बजे गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्त्वकासाथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय