कार्तिक १३,हेटौंडा। हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । आर्थिक संकटका कारण समयमा कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द गर्नु परेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए। दसैंको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको थियो। आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द भएको महाप्रबन्धक पाण्डेको भनाई छ।उद्योगमा मासिक तीन हजार ६सय मेट्रिक टन कोइला खपत हुन्छ।
महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने बताए।उत्पादित तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न शहरमा बिक्री वितरण तयारी गरिएको छ। सिमेण्ट बिक्रीको आम्दानी कोइला खरिदमा लगाइने उद्योगले जनाएको छ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै शहरमा बिक्री वितरण गर्न समस्या भएको पनी उद्योगले जनाएको छ।२०३३ सालमा हेटौंडाको लामसुरे हाईटमा स्थापित उद्योगले २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरूपमा उत्पादन सुरु गरेको थियो। उद्योगमा करिब ३ सय९०जना कर्मचारी कार्यरत छन्।




