कात्तिक १४, काठमाडौं । सरकारले १८ वर्ष नाघेका बन्दीलाई बालसुधार गृहमा छुट्टै राख्ने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बाल सुधारगृहमा सबै उमेर समूह एकै ठाउँमा राखिने हुनाले झडप लगायतका घटना बढेको निष्कर्षसहित १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी गरिएको हो।
मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटना’का सम्बन्धमा भएको छलफलमा सहसचिव भट्टराईले १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी अगाडि बढाएको जानकारी दिए । उनका अनुसार बालिग हुनु अगाडि नै अपराध गरेकाहरुले बालिग भइसकेपछि पनि वाल सुधार गृहमै रहेर कैद भुक्तान गर्ने कानुनी व्यवस्था छ ।
यस्तो व्यवस्थाका कारण बाल सुधार गृहमा २६ वर्ष सम्मका बन्दीहरु रहने अवस्था बनेको उनको भनाइ छ । १८ वर्षदेखि २२÷२३ वर्ष उमेर समुहका बन्दीले वाल सुधार गृहमा सुधार गृहको नियम उल्लघन गर्ने प्रवृति बढेको निष्कर्षमा सरकार पुगेको र सोही अनुसार व्यवस्थापनको कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।
सहसचिव भट्टराईले पहिलो चरणमा बाँकेमा १८ वर्ष नाघेका वाल वन्दीहरुलाई राख्ने गृहकार्य अगाडि बढेको बताए ।
१८ वर्ष नाघेकालाई छुट्टै बाल गृहमा राख्ने र कानुनमा सुधार गरेर कारागारमै पठाउने भन्ने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिए ।



