मंसिर ३, बारा। नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि करिब २८ हजार थप रुख–विरुवा कटानीका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रस्ताव गरेको छ । सेनाले चेनेज ‘३५ प्लस ३६०’ देखि ४९ प्लस ८१८सम्मको क्षेत्रको ५२.५२७ हेक्टर वन क्षेत्रको रुख कटानीका लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति मागेको हो । सेनाले २७ हजार ७४८ वटा रुख कटानीको लागि प्रस्ताव गरेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१, बकैयाँ गाउँपालिका–५, हेटौंडा उपमहानगरपालिका–१८ वडाका लागि पूरक वातावरणीय अध्ययन प्रतिवेदन पेश भएको हो । यसअघि सेनाले करिब १ लाख १४ हजार वटा रुख कटान गरिसकेको छ ।
सन् २०१५मा गरिएको वातावणीय अध्ययन मूल्यांकन प्रतिवेदनलाई आधार बनाउँदै सेनाले पूरक वातावरणीय प्रतिवेदन मन्त्रालयमा पेश गरेको हो । प्रतिवेदनअनुसार २.७७२ हेक्टर निजी नम्बरी, ८.१६ हेक्टर निजी ऐलानी र ३६.४६ हेक्टर स्थायी वन क्षेत्र अधिग्रहण गर्न सेनाले स्वीकृति मागेको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
सेनाले भीरालो जमिन संरक्षण, सर्भिस रोड, लिंक रोड, गाडी मर्मतका लागि आराम क्षेत्र, मेडिकल उपचार केन्द्र र रिक्रियसन सेन्टर, भेहिकल ओभर पास, भेहीकल अन्डरपास, इन्टरचेन्ज क्षेत्र, टोल प्लाजा र प्रशासनिक भवन निर्माणका लागि आवश्यक जमिनमा पू्रक ईआईए प्रस्ताव गरेको हो ।



