मंसिर ४,हेटौंडा। भारतबाट ईन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगमले मूल्य घटाएको छैन । तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको नयाँ मूल्य सूची पठाएको निगम स्रोतले बताएको छ ।
स्रोतका अनुसार पेट्रोल, मट्टितेल, हवाइ इन्धनको मूल्य पनि केही मात्रामा घटेको छ । भारतबाट आएको नयाँ मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार त्यसै दिन वा भोलिपल्टदेखि लागू हुने गरी नेपालभर इन्धनको उपभोक्ता मूल्य निर्धारण गर्छ । तर यसपटक भारतबाट नयाँ मूल्य आएको ५ दिन बित्दा पनि निगमले मूल्य समायोजन गरेको छैन ।
नेपाल भारत पेट्रोलियम व्यापार सम्झौताअनुसार भारतीय कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारीखमा इन्धनको नयाँ मूल्य आयल निगमलाई पठाउँछ । खाना पकाउने ग्यासको मूल्य भने हरेक महिनाको १ तारीेखमा पठाउने गरेको छ ।





