पुस १, कैलाली । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु गत मंसिर १० गते नै भएको थियो। तर परीवारका सदस्यले भरतको मृत्युको खबर केही दिनअघि मात्र पाएका छन् । गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए । मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले शाहले बताए ।भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।
रूस÷ युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर
राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।
केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको भन्दै आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

साथै युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।
मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय