पुस८,हेटौंडा ।कमल थापा नेतृत्वको राप्रपा नेपाल मकवानपुरले पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामा माग गर्दै राँके प्रदर्शन गरेको छ।मकवानपुर राप्रपा नेपालका नेता कार्यकर्ताहरुले आईतवार साँझ हेटौंडा ४ स्थित कान्तिराजपथमा मन्त्री किराँतीको राजिनामा माग गर्दै राँको बालेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा,जिल्ला सदस्य,सिराज थापा ,युवक संगठनका जिल्ला अध्यक्ष भृगु कार्की लगायतका नेताकार्यकर्ता सहभागी थिए।उनिहरुले यसअघि पनि किराँतीको पुत्ला दहन गरि विरोध प्रदर्शन गरेका थिए।
उनिहरुले धर्म बेच्न पाँइदैन,दलाल सरकार होशियार ,सुदन किराँती राजिनामा दे जस्ता नाराबाजी गरि प्रदर्शन गरेका थिए।
मन्त्री किराँतीको गैर जिम्मेवार अभिव्यक्तिका कारण उनको राजिनामा माग्दै प्रदर्शन गर्नुपरेको जिल्ला सदस्य सिराज थापाले बताए।

मन्त्री किराँतिको अभिव्यक्तिविरुद्ध राप्रपा नेपाल लगायतका केहि दल तथा विश्व हिन्दु महासंघले उनको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ।
मन्त्री किराँतीले गत बिहिवार काठमाडौमा क्रीसमस फेस्टिवल कार्यक्रममा क्रीस्चियनलाई मान्दिन भन्नु संविधान नमान्नु हो,संविधान नमान्नेलाई हत्कडी लगाएर जेल हाल्नुपर्छ भनेका थिए।उनको अभिव्यक्ति विवादित बनेको छ।




