पुस १२,काठमाण्डौ। काठमाडौँका तीन स्थानीय तहमा अझै स्वास्थ्य बीमा लागु हुन सकेको छैन ।स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागु भइसकेको छ ।७ सय ५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा अझै बीमा कार्यक्रम लागु हुन बाँकी छ ।स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्थानीय तहमा पहिलो सेवा बिन्दु हुनुपर्ने उल्लेख छ । काठमाडौँ जिल्लामा पर्ने एक महानगरपालिका र दुई नगरपालिकामा पहिलो सेवा बिन्दु नभएकाले सेवा लागु हुन नसकेको कँडेलले बताइन् । २०७२ साल २५ चैतमा कैलालीबाट बीमा कार्यक्रम लागु भएको हो ।
आठ वर्ष अघि सरकारद्वारा लागु भएको स्वास्थ्य बीमा कार्यक्रममा ७० लाख जनाभन्दा बढी आवद्ध भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । अति गरिव, ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गता, महिला स्वयंसेविका र सरुवा रोग भएका व्यक्तिको स्वास्थ्य बीमा सरकारले नै गर्ने व्यवस्था छ ।
परिवारको सदस्यमा आधारित स्वास्थ्य बीमामार्फत वार्षिक एकदेखि दुई लाखसम्मको निःशुल्क औषधि उपचार गर्न पाइने व्यवस्था छ । जसका लागि ५ जनाको परिवारका लागि वर्षदिनमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रतिव्यक्ति सात सय रुपैयाँ थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिने व्यवस्था छ ।

बीमा सेवामार्फत सामान्य उपचारदेखि जटिल रोगको पनि निःशुल्क उपचार गर्न पाइन्छ । यस बीमामा १ हजार १ सय ३३ किसिमका औषधि बिमितलाई निःशुल्क प्रदान गरिन्छ । यसका साथै ओपीडी, ल्याब लगायतको सुविधा पनि रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यी उपचार सेवा सरकारले तोकेको मातहतका स्वास्थ्य संस्थाबाट मात्रै लिन पाइने व्यवस्था भए पनि अब हरेक सरकारी स्वास्थ्य संस्थाबाट लागु गर्ने तयारी भइरहेको प्रवक्ता डा. बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय