पुस १८,सिँगौल।बाराको निजगढ नगरपालिका वडा नं २सिँगौलका प्रतिभावान युवा हुन् अमृत थापा।लोकदोहोरी गायनमा विशेष दख्खल राख्ने ३४ वर्षिय थापा सानै देखि सफल लोकगायक बन्ने सपना बुनेर संघर्ष गरिरहेका छन्।
मानिसले जिवनमा अनेक सपना बुनेका हुन्छन्।अमृतले पनि सपना बुनेका छन्।उनले जीवनमा साँचेको एउटै सपना भनेको ईन्द्रेणिमा एकचोटि दोहोरी गाउने र सबै सामु चिनिने हो।तर कसरी ? उनी अन्यौलमा छन्।ईन्द्रेणिसम्म कसरी पुग्ने उनलाई कुनै मेसो छैन।चिनजान छैन।जर्जर आर्थिक अवस्थाका कारण घर चलाउनै हम्मे हम्मे छ उनलाई।तरपनी ईन्द्रेणीमा एकचोटि पुगिछाड्ने अठोट छ उनको।
ईन्द्रेणिमा गएर गीत गाउने ठूलो धोको छ,तर काठमाडौसम्म जाने,गएर कसलाई भेट्ने,कहाँ बस्ने ,के खाने, पिरलो छ उनलाई।`कोही चिनेको पनि छैन, त्यँहासम्म पुग्न कसैले सहयोग गरिदिए म आफ्नो कला देखाएर सबैसामु चिनिन्थेँ होला।’ उनी बिलौना गर्छन्।
ईन्द्रेणी प्रत्यक्ष लोकदोहोरी गायन हुने टेलिभिजन `शो´ हो।यो कार्यक्रमबाट थुप्रै प्रतिभाहरुले आफुलाई स्थापित गरेका छन्।अमृत पनि आफ्नो प्रतिभा नमरोस् चाहन्छन्।त्यसैले ईन्द्रेणिका संचालक कृष्ण कंडेलसम्म आफ्नो कला पुगोस भनेर टिकटकमा भिडियोहरु अपलोड गरिरहन्छन्। युट्युब लगायतका सामाजिक सञ्जालहरुमा अन्तर्वाता दिईरहन्छन्। दोहोरी भाकामार्फत नै ईन्द्रेणिका संचालकहरुलाई अनुरोध गरिरहेका हुन्छ्न्।अनि सुरिलो स्वरमा गाउन शुरु गरिहाल्छन्,
“ईन्द्रेणिमा जान मन मलाई
छिट्टै लैजाउ हे कंडेल कृष्ण दाई
लौन राईफल छाउनिमा
हाम्रो पनि आउँछ की नम्बर
लौन दोहोरी गाउनिमा।”
उनी दोहोरीमा टुक्का जोर्न उत्तिकै खप्पिस छन्।सवाल भुँईमा झर्न नपाउँदै जवाफ फर्काईहाल्छन्।
“ईन्द्रेणिमा राज गर्छन् छत्र
कला भएर म गाउँमा अलपत्र
लौन राईफल छाउनिमा
हाम्रो पनि आउँछ कि नम्बर
लौन दोहोरी गाउनीमा।”


उनको यो अनुरोध न ईन्द्रेणी टिमसम्म पुग्यो,न अहिलेसम्म उनले हार मानेका छन्।उनी अनवरतरुपमा गाईरहेका छन् केवल गाउनु आफ्नो धर्म ठानेर।
गाउँघरमा लाग्ने मेलापर्व,जात्रा उत्सव,भजन किर्तनमा अमृत आफ्नो सुरिलो भाका गुञ्जाउन तम्सिहाल्छन्। अनि फुराउँछन विभिन्न भाकाहरु।विशेषगरी दोहोरीका सवालजवाफ फर्काउन उनि यति माहिर छन् की जो कोहिलाई हराभरा खेलाईदिन्छन्।उनी टुक्का जोर्न पनि उत्तिक्कै खप्पिस छन्।दर्शकहरु उनको दोहोरी छेड्छाड् खुब चाख मानेर सुनिरहेका हुन्छन्।यस्ता साँस्कृतिक कार्यक्रमहरुमा उनी छैनन् भने खल्लो महसुस गर्छन् गाउँलेहरु पनि।
गाँउले साथिभाई सबैले उनको प्रतिभाको कदर गर्छन्।`सबैले राम्रो छ,ईन्द्रेणीमा जानु,एल्बम निकाल्नु भन्छन् नि!घरायसी व्यवहार र खेतिपातीले उम्किनै पाउँदिन,त्यो भन्दापनी त्याँसम्म पुग्ने माध्यम नै छैन।´उनी समस्या सुनाउँछन्।
आफ्नो थोरै बारीमा लगाएको केराखेती र ॠणपान गरेर किनेको गाईको दुध बेचेर आफुसहित ४ जनाको परिवार धानेका छन् उनले।
सानैमा आमाबाबु गुमाएपछि टुहुरो बनेका अमृत मामाघरको आश्रयमा हुर्केका हुन्।उनकी आमा मिठु सापकोटा पनि एक समयकी लोकदोहोरी गायिका हुन्।उनले केही दोहोरी एल्बमहरु प्रकाशित गरेकी थिइन्।आमाकै सपना पुरा गर्न भएपनी अमृत एकचोटि ईन्द्रेणी जान चाहन्छन् ,गाउन चाहन्छन् अनि सबै सामु लोक गायक बनेर चिनिन चाहन्छन्।मात्र उनलाई त्यहाँसम्म पुग्ने पुलको खाँचो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय