पुस २६,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई पुनः सेवा प्रदायक संस्थाको रुपमा समेट्ने भएको छ । यसअघि सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत बीमा कार्यक्रम पुनर्संरचनाको आवश्यकता भएको भन्दै ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त घोषणासँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएका थिए ।
निजी अस्पताल तथा मेडिकल कलेजले बीमितको उपचार गरेवापत फर्जी बिल पेश गर्ने गरेको तथा बीमितको सुविधा थैली सक्ने हिसाबले मनपरी स्वास्थ्य परीक्षण गरेको भन्दै निजी अस्पतालसँग सम्झौता बन्द गर्नुपरेको सरकारको तर्क थियो ।
तर हालै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष बनेका डा. गुणराज लोहनीले तत्कालिन समयमा स्वास्थ्य बीमा बोर्डको नेतृत्वले सरकारलाई बुझाउन नसक्दा र अनुगमनमा भएको कमजोरीका कारण निजी अस्पतालमा सेवा बन्द गरिएको भन्दै अब सुरु गर्ने बताए ।
डा. लोहनीले सेवाप्रदायक संस्थालाई बीमितको उपचारवापत समान मूल्य तिर्ने व्यवस्था भएको र बीमाको नजरमा सरकारी र निजी अस्पताललाई एकै नजरबाट हेर्ने बताए ।





