जेठ १०,हेटौंडा । यहि जेठ १३ देखी २६ गतेसम्म देशैभर पोलियो रोगविरुद्धको `आईपिभी´ खोप अभियान सञ्चालन हुने भएको छ।अभियान अन्तर्गत मकवानपुरमा पनि खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।
कार्यालयले बुधबार हेटौंडामा जिल्ला खोप समन्वय समिती र सञ्चारकर्मीहरुलाई एकदिने अभिमुखिकरण गोष्ठि आयोजना गरि अभियान बारे जानकारी गराएको हो।
मकवानपुरमा २०७३ वैशाख देखि २०७५ आश्विनसम्म जन्मेका करिब २२ हजार बालबालिकालाई यो खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

मकवानपुर जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार।

जेठ १३ देखि १९ गतेसम्म हरेक विद्यालयमै खोप अभियान सञ्चालन हुने र छुटेका बालबालिकाहरुले २६ गतेसम्म नै स्वास्थ्य केन्द्र मार्फत खोप लगाउन मिल्ने प्रमुख मिजारले बताए।
मकवानपुरका १० ओटै स्थानिय तहका ५ सय ४३ खोप केन्द्रमा खोप सामग्री पुगिसकेको उनले बताए।
पोलियो भाईरसबाट सर्ने संक्रामक रोगका विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनकी सर्भिलेन्स इम्युनाईजेशन मेडिकल अफिसर डक्टर समिस्ता बास्तोलाले पोलियोका कारण पक्षघात हुँदै मानिसको मृत्युसमेत हुने भएकोले बालबालिकाहरुलाई नछुटाई यो खोप लाउनु पर्ने बताईन्।

खोप बारे जानकारी दिँदै डाक्टर बास्तोला।

ज्वरो लगायत क्यान्सर तथा दीर्घ रोगहरुको औषधि सेवन गरिरहेकाहरुले भने यो खोप लाउन नहुने उनको भनाई छ।

नेपालमा सन् २०१० मा र पूर्वी दक्षिण एशियामा सन् २०१३ मा पोलियोको बिरामिको अवस्था शून्य घोषणा गरिएपनि अफगानिस्तान र पाकिस्तानमा पुन: पोलियो देखापरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय