साउन २२,हेटौंडा।मकवानपुरको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सांसद सिंहले सेवा सुविधासहित आफुलाई प्राप्त हुने १ वर्षको तलब रकम ६ लाख १२ हजार र व्यक्तिगत तर्फबाट ३ लाख ८७ हजार रुपैयाँ थप गरि ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ आँखा अस्पताललाई सहयोग गरेका हुन्।
सांसद सिंहले मंगलबार हेटौंडास्थित आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरि तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुईतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
चुनावी घोषणासभामा वाचा गरे अनुसार जनताको करबाट पाएको तलब वापतको रकम जनतालाई नै फिर्ता गरेको सांसद सिंहले बताए।
निर्देशक रुईतले सांसद सिंहबाट प्राप्त सहयोग रकम सिमान्तकृत जनताका लागि सदुपयोग गरिने बताए।



