कार्तिक २९,हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गरेको एउटा कार्यक्रमको जम्मा खर्च १९ हजार ७ सय मध्ये ४५ प्रतिशत भन्दा बढी रकम अनियमितता भएको पाइएको छ ।
गत जेठ ७ गते हेटौंडाको पल्पसा सभा हलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले फलफूल बजार गोदाममा रिपेनिङ एजेन्टको प्रयोगको सर्भिलेन्स तथा नियमन सम्बन्धि छलफल कार्यक्रममा सहभागीलाई चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी गरेको खुलेको हो ।

कार्यक्रमको खर्चबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरे र खाद्य अनुसन्धान अधिकृत सागर दाहालले वास्तविक खर्च विवरण र बिल भरपाईहरु लुकाएर कुल १९ हजार ७ सयको खर्च विवरण दिएका थिए । कार्यक्रममा सहभागी ३२ जनालाई चिया र बिस्कुट खुवाइएको भएपनि खाद्यले ३२ जनाले ६४ सय बराबरको चिकेन खाजा सेट र चिया खाएको भनेर हेटौंडा ९ स्थित पशुपतिनगरको जस्मिन खाजा घरको विल पेश गरिएको भेटिएको छ ।
कार्यक्रमका लागि मकवानपुर उद्योग वाणिज्य संंघले कार्यक्रमस्थल निशुल्क उपलब्ध गराउनुका साथै चिया विस्कुटको बिलपनि तिरेको थियो ।
त्यस्तै कार्यक्रममा २८ सय रुपैंयाँको स्टेशनरी खर्च भएपनि ४ हजार ८ सय ५ रुपैयाँ खर्च भएको देखाइएको छ भने उपभोक्ता अधिकारकर्मी अजय अधिकारी र कुमार पौडेलले कार्यपत्र प्रस्तुत गरेवापत २ हजार रुपैंया मसलन्द खर्च भएको उल्लेख छ । तर उनिहरुले पनि मसलन्द वापत कुनै रकम नलिएको बताएका सिधाकुरा.कमले लेखेको छ।




