जेठ२,हेटौंडा।मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो नाम जोडेर अप्रमाणित र तथ्यहिन समाचारहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
प्रतिष्ठानका अध्यक्ष भीमसागर गुरागाईँले एक बिज्ञप्ति जारी गरि अनलाईन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रतिष्ठानको नाम जोडेर अप्रमाणित,तथ्यहिन,भ्रामक,सिर्जित तथा कपोल्कल्पित समाचार सम्प्रेषण नगर्न भनेका छन्।

यस्ताखाले समाचारहरुले प्रतिष्ठानको गरिमामा आँच आउने,कर्मचारीको मनोबल घट्ने र विरामीको सेवामा समेत प्रत्यक्ष असर पर्नुका साथै प्रतिष्ठानलाई कानुनी हिसाबले अगाडी बढ्न बाधा पुगेको बिज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठानले सरोकारवालाहरुबाट सकारात्मक सुझाव र मार्गदर्शनको अपेक्षा राखेको समेत जनाएको छ।
वागमती प्रदेश सरकारबाट २०७६ साल साउन २ गते स्थापना भएको प्रतिष्ठान,स्वास्थ्य बिज्ञानको क्षेत्रमा अध्ययन,अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने र आमनागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ स्थापित स्वास्थ्य संस्था भएको दाबी गरीएको छ।
यता,मकवानपुरमा सरकारी अस्पतालको रुपमा रहेको एकमात्र हेटौंडा अस्पताल यहि संस्थाको नाममा संचालन गरि अस्पतालको अस्तित्व मेटाउने दुष्प्रयास भएको भन्दै केही समूहले अस्पताल बचाउ तथा सुधार संघर्ष समिति गठन गरि विभिन्न स्वरुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ।
प्रतिष्ठानका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको छ।
संघर्ष समितिले आन्दोलनकै क्रममा केही महिना अघि हेटौंडा अस्पतालको साइनबोर्डमा लेखिएको ‘मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित’ शब्दावली समेत मेटाएको थियो।
सो कार्यमा संलग्न संघर्ष समितिका ६ जना युवाहरुलाई प्रहरीले एकदिन हिरासतमा राखी छाडेको थियो।




