मंसिर६,निजगढ।बाराको निजगढ नगरपालिकाका पूर्वनगरप्रमुख सुरेश खनालले निजगढ वडा ९ कार्यालयलाई १ थान फोटोकपी मेसिन सहयोग गरेकाछन्। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गरेको आगजनीमा कार्यालयको फोटोकपी मेसिन नष्ट भएपछि पूर्वनगरप्रमुख खनालले बिहीवार कार्यालयमा पुगेर वडा समितिका सदस्यहरुलाई १ लाख मूल्य बराबरको क्यानोन कम्पनीको ठूलो फोटोकपी मेसिन हस्तान्तरण गरेका हुन्।

आन्दोलनको क्रममा फोटोकपी मेसिनसहित कार्यालयका सामग्री र उपकरणहरु आगजनी गरेर नष्ट पारिएपछि अवरुद्ध बनेको फोटोकपी सेवा सुचारु पार्न व्यक्तिगत लगानीमा मेसिन खरिद गरी सहयोग गरेको खनालले बताए। आफू पनि सोही वडाको बासिन्दा भएकोले कार्यालयको सेवा प्रभावकारी बनाउने प्रयासस्वरुप फोटोकपी मेसिन सहयोग गरेको उनकोे भनाई छ ।

आन्दोलनकारीहरुले कार्यालयमा रहेको फोटोकपी मेसिनसहित कम्प्युटर, फर्निचर, कागजपत्र र अन्य सामग्रीहरु सडकमा ल्याएर आगजनी गरेका थिए ।सोही क्रममा कार्यालयको ३५ हजार नगदसमेत चोरी भएको थियो ।

वडाअध्यक्ष रामचन्द्र कटुवालले वडा कार्यालयलाई गरिएको सहयोग अनुकरणीय रहेको बताए ।
मेसिन हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष कटुवालसहित सदस्यहरु चित्रप्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्रकुमारी बिक र वडासचिव सोमसिंह लामालगायत कार्यालयका कर्मचारी र वडाका सेवाग्राहीहरुको पनि उपस्थिति थियो ।

यसअघि पनि कार्यालयलाई स्थानीय जल उपभोक्ता समितिले १ थान स्टील दराज, १ थान ठूलो टेबुल र स्थानीय समाजसेवी अमर ग्यालनले वडाअध्यक्ष कटुवालले प्रयोग गर्ने १ थान आरामदायी कुर्सी र रामु चौलागाईले कार्यालय प्रयोजनको लागि १ थान स्टील दराज सहयोग गरेकाथिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय