पुस २०,हेटौंडा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठकलाई फिलिपिन्सको मालोलोस शहरबाट त्यहाँको ब्युरो अफ इमिग्रेशनले नियन्त्रणमा लिएको हो।

फिलिपिन्सको ब्युरो अफ इमिग्रेशन (बीआई) ले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको अनुरोध र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत जारी डिफ्युजन नोटिसका आधारमा पाठकलाई पक्राउ गरिएको उल्लेख गरिएको छ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा नेपाल प्रहरीको औपचारिक अनुरोधपछि उनलाई नियन्त्रणमा लिइएको इमिग्रेशनले जनाएको छ।

इमिग्रेशनका अनुसार पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेशनको हिरासतमा छन्। उनीमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने तयारीस्वरूप निष्कासन (डिपोर्टेसन) प्रक्रिया सुरु गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। आवश्यक कागजी प्रक्रिया पूरा भएपछि पाठकलाई नेपाल बुझाइने तयारी भइरहेको बताइएको छ।

नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकाय, सुरक्षा निकाय र उच्च ओहदाका व्यक्तिहरूलाई पत्र तथा भिडियो सन्देशमार्फत धम्की दिएको खुलेपछि पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको थियो।

धम्कीपूर्ण सामग्री सामाजिक सञ्जाल र निजी माध्यममार्फत पठाइएको भन्ने उजुरीका आधारमा प्रहरीले साइबर निगरानी र प्राविधिक अनुसन्धान तीव्र बनाएको थियो।

अनुसन्धानका क्रममा धम्की दिने व्यक्ति विदेशमा रहेको पुष्टि भएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन जारी गर्दै सम्बन्धित देशका सुरक्षा निकायसँग समन्वय गरेको थियो। त्यसकै आधारमा फिलिपिन्सको इमिग्रेशनले मालोलोस सहरमा उनलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार पाठक कुनै सामान्य व्यक्ति नभई यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। नेपाल प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा उनीविरुद्ध यसअघि चार पटकसम्म फरक–फरक कसुरमा मुद्दा चलेको तथ्य खुलेको छ।

सार्वजनिक अपराध अन्तर्गत अभद्र व्यवहारदेखि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी मुद्दासम्म उनीमाथि अभियोग लागेको प्रहरीको अभिलेखमा देखिएको छ।

पाठकको पृष्ठभूमि हेर्दा उनीविरुद्ध पहिले पनि पटक–पटक कानुनी कारबाही भएको र त्यसका बाबजुद पुनः गम्भीर प्रकृतिका धम्कीपूर्ण गतिविधिमा संलग्न भएको देखिएको प्रहरीको भनाइ छ। यसपटक उनले संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ व्यक्तिलाई लक्षित गरी धम्की दिएको विषयलाई गम्भीर अपराधका रूपमा लिइएको छ।

प्रहरीका अनुसार नेपाल फर्काइएपछि पाठकलाई धम्की, सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्याउने कार्य, साइबर अपराधलगायतका अभियोगमा अनुसन्धान गरिनेछ। आवश्यक परे थप अभियोग पनि आकर्षित हुन सक्ने प्रहरी अधिकारीहरूले बताएका छन्।

उच्च पदस्थ व्यक्तिहरूमाथि धम्की दिने घटनाले पछिल्लो समय सुरक्षा निकायलाई थप सतर्क बनाएको छ।

विशेष गरी सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरेर गरिने धम्की, दबाब र त्रास सिर्जना गर्ने गतिविधिलाई नियन्त्रण गर्न प्रहरी र सम्बन्धित निकायले अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकतामा राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय