फागुन ४,काठमाडौं। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मुख्य राजनीतिक प्रतिबद्धताका रूपमा ‘नागरिक करार’ (Citizen Contract) सार्वजनिक गरेको छ। पार्टीले यसलाई केवल चुनावी घोषणापत्र मात्र नभई जनता र पार्टीबीचको कानुनी र नैतिक सम्झौताको रूपमा व्याख्या गरेको छ।

​रास्वपा सभापतिद्वारा हस्ताक्षर गरिएको करारमा पार्टीले आफूलाई ‘ऋणी’ र आम नागरिकलाई ‘साहु’ को रूपमा प्रस्तुत गरेको छ। आगामी २०८२ फागुन २१ गतेको मिति राखेर सार्वजनिक गरिएको दस्तावेजमा ५ वर्षभित्र उल्लेखित लक्ष्यहरू प्राप्त नगरे अर्को निर्वाचनमा राजनीतिक नैतिकता र पदबाट सजाय भोग्न तयार रहने घोषणा गरिएको छ।

करारका ५ मुख्य प्राथमिकता र लक्ष्यहरू:

१. सदाचार र असल शासन:

  • ​सरकारी सेवालाई ‘लाइन होइन अनलाइन’ मार्फत शतप्रतिशत डिजिटल बनाउने।
  • ​२०४६ सालदेखिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने।
  • ​भ्रष्टाचार सूचकांकमा भारी सुधार गरी दलीय दोहन र बिचौलियाको अन्त्य गर्ने।

२. मध्यम वर्गीय विस्तार:

  • ​प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर पुर्‍याउने।
  • ​कुल गार्हस्थ उत्पादन (GDP) को आकार १०० अर्ब डलर पुर्‍याउने लक्ष्य।
  • ​सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गरी गुणस्तरीय स्वास्थ्य र सार्वजनिक शिक्षामा सुधार गर्ने।

३. काम र रोजगारी:

  • ​बाध्यात्मक वैदेशिक पलायन रोक्न ५ वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने।
  • ​आइटी, पर्यटन, कृषि, खनिज र उद्योग क्षेत्रलाई रोजगारीको मुख्य आधार बनाउने।

४. कनेक्टिभिटी र पूर्वाधार:

  • ​१५ हजार मेगावाट विद्युत् जडान क्षमता र ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण।
  • ​१० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने र सबै बस्तीमा तीव्र गतिको इन्टरनेट पुर्‍याउने।

५. प्रवास र डायस्पोरा:

  • ​विदेशमा रहेका नेपालीहरूका लागि ‘अनलाइन मताधिकार’ सुनिश्चित गर्ने।
  • ​वंशजको नागरिकताको निरन्तरता र ‘सार्वभौम डायस्पोरा फण्ड’ को कार्यान्वयन गर्ने।

“हामी पुरा गर्न नसकिने वाचा बाँड्दैनौ”

​करारको अन्त्यमा रास्वपाले लेखेको छ, “कावु बाहिरको परिस्थिति बाहेक हामी पुरा गर्न नसकिने वाचा बाँड्दैनौ, बरु तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौँ।”

​पार्टीले एकल बहुमत प्राप्त गरेको अवस्थामा पनि यी सर्तहरू पूरा गर्न नसके नागरिकले संविधान र कानुन बमोजिम आफूहरूलाई सजाय दिन सक्ने गरी ‘राजनैतिक नैतिकता’ को कसम खाएको छ। यो नागरिक करार सार्वजनिक भएसँगै रास्वपाले अबका दिनमा घर-दैलो अभियानलाई थप तीव्रता दिने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय