फागुन ५,निजगढ। २०७९ सालको निर्वाचनमा ‘परिवर्तन’ र ‘नयाँ विकल्प’ को नारासहित मैदानमा उत्रिएका बारा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमाल चुनाव हारेपछि आफ्नो निर्वाचन क्षेत्रमा नफर्किएको भन्दै स्थानीय मतदाताले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
“चुनावका बेला भोट माग्न घरदैलोमा आउने, तर पराजित भएपछि एक पटक पनि मुख देखाउन नआउने” भन्दै क्षेत्र नं. १ का कतिपय बासिन्दाले सामाजिक सञ्जाल र स्थानीय स्तरमा गुनासो गरेका हुन्।

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–१ बाट गणेश धिमाल तेस्रो स्थानमा रहेका थिए। उनले कुल सदर मतको करिब ४.२५ प्रतिशत मत प्राप्त गरेका थिए।
निर्वाचनका क्रममा रास्वपाको ‘घण्टी’ चिह्नप्रति युवा र सचेत मतदाताको ठूलो आकर्षण देखिएको थियो।
३ हजार ३ सय १९ मत प्राप्त गर्दै सम्मानजनक उपस्थिति जनाए पनि, निर्वाचनपछि धिमालले क्षेत्रका जनतासँगको सम्पर्क टुटाएको आरोप लाग्ने गरेको छ।
”जिते पनि हारे पनि आफ्नो क्षेत्रका समस्या बुझ्न र संगठन विस्तारका लागि उम्मेदवार आउनुपर्ने हो, तर धिमालजी चुनावपछि हराउनुभयो,” बारा–१ का एक स्थानीय मतदाताले बताए।
पराजित उम्मेदवारहरू निर्वाचनपछि पुन: नफर्कने पुरानै प्रवृत्ति रास्वपा जस्तो नयाँ दलका उम्मेदवारमा पनि देखिएको भन्दै कतिपयले ‘वैकल्पिक राजनीति’ माथि नै प्रश्न उठाउन थालेका छन्।




