फागुन १२,हेटौंडा।नेपाली महिला फुटबलकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) को उपचार र पुनरागमनका लागि खेल क्षेत्रबाट सहयोग जुट्ने क्रम सुरु भएको छ।

साम्बाको गम्भीर चोट र आर्थिक अभावको खबर सार्वजनिक भएसँगै एन्फाका पूर्व अध्यक्ष गणेश थापाको विशेष पहलमा कतारमा रहेका सफल व्यवसायी एवं खेलप्रेमी राज रेग्मीले ठूलो सहयोगको घोषणा गरेका छन्।

​पूर्व अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए अनुसार, उनको अनुरोधलाई स्वीकार गर्दै रेग्मीले साम्बाको शल्यक्रियापछिको ‘रिह्याब’ (पुनर्स्थापना) का लागि आवश्यक पर्ने खर्चको जिम्मेवारी लिएका हुन्।

साम्बालाई रिह्याबका क्रममा चाहिने स्विमिङ पुल र जिम सुविधासहितको होटल वा अपार्टमेन्टमा दुई महिना बस्न लाग्ने सम्पूर्ण खर्च राज रेग्मीले बेहोर्ने प्रतिबद्धता जनाएकाछन्।

​यदि दुई महिनाभन्दा बढी समय बस्नुपर्ने अवस्था आएमा अन्य प्रवासी नेपालीहरूको सहयोगमा थप व्यवस्था मिलाइने थापाले उल्लेख गरेकाछन्।

“चिन्ता नगर साम्बा, हामी तिम्रो साथमा छौँ” भन्दै थापाले खेलाडीको मनोबल उच्च राख्न आम खेलप्रेमीहरूलाई अपीलसमेत गरेका छन्।

​एन्फा नेतृत्वबाट सहयोग नपाएर निरास बनेकी साम्बाका लागि यो सहयोगले ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ।
व्यक्तिगत पहलबाटै भए पनि राष्ट्रिय गौरवको रक्षाका लागि जुटेको यो सहयोगप्रति आम खेलप्रेमीहरूले प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय