बैशाख १०,काठमाडौं।गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
२०८२ चैत १३ गतेदेखि गृह प्रशासनको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयर स्वामित्व लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै पद त्याग गर्ने निर्णय गरेका हुन्।

उनले आजैका मितिदेखि लागू हुने गरी आफ्नो राजीनामा घोषणा गर्दै पदभन्दा नैतिकता र जनविश्वास आफ्नो लागि सर्वोपरि रहेको प्रस्ट पारेका छन्।
मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवा पुस्ता (Gen Z) को आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्दै गुरुङले ४६ जना सहिदहरूको बलिदानीको आडमा बनेको सरकारमाथि उठ्ने प्रश्नको जवाफ नैतिकता नै हुनुपर्ने जिकिर गरेका छन्।
आफू पदमा रहँदा छानबिन प्रक्रियामा स्वार्थको द्वन्द्व (Conflict of Interest) देखिन सक्ने र त्यसले निष्पक्षतामा असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनले मार्गप्रशस्त गरेका हुन्।
राजीनामा घोषणाका क्रममा उनले सञ्चारकर्मी, आम नेपाली र युवाहरूलाई अपिल गर्दै वास्तविक परिवर्तनका लागि सत्य र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।
रामराज्यको परिकल्पना गर्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने भन्दै उनले कतिपय मिडियाकर्मीहरूको अपारदर्शी लगानीका विषयहरू पनि भविष्यमा खुल्दै जाने संकेत गरेका छन्।
यस कदममार्फत उनले आफूलाई नैतिक रूपमा जिम्मेवार देखाउँदै समग्र नेतृत्व तहलाई नै उत्तरदायी बन्न चुनौती दिएका छन्।




