बैशाख २६,निजगढ।बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा गएराति एक २५ वर्षीया युवतीको शङ्कास्पद मृत्यु भएको छ।
प्रहरीका अनुसार निजगढ–१२ निवासी सीता थिङ शुक्रबार राति अन्दाजी १० बजे होटलको कोठामा घाइते अवस्थामा रहेकी खबर प्राप्त भएको थियो।

ईलाका प्रहरी कार्यालय निजगढको टोलीले तत्काल उद्धार गरी उनलाई सामुदायिक अस्पताल प्रसूति गृह पुर्याएकोमा अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाको समयमा मृतक थिङसँगै सोही कोठामा निजगढ–९ निवासी १८ वर्षीया किशोरी अनु सुनार पनि रहेको खुलेको छ।
फरार अभियुक्तहरू नियन्त्रणमा
घटनापछि मृतकका साथमा रहेका अन्य दुई युवकहरू फरार भएका थिए।
फरार हुनेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्ती बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन थिए।
घटनाको गम्भीरतालाई हेर्दै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (SP) को नेतृत्वमा विशेष टोली र ईलाका प्रहरी कार्यालय निजगढको टोलीले तत्काल ‘खोजतलास अपरेसन’ सुरु गरेको थियो।
प्राविधिक विश्लेषणका आधारमा प्रहरीले बोम्जनलाई विहान १ बजे टाङ्गिया बस्ती नजिकैको जङ्गल छेउबाट र माझिलाई विहान ४ बजे निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै व्यक्ति र घटनास्थलमा रहेकी युवतीमाथि सोधपुछ सुरु गरेको छ। होटलमा उनीहरूबीच के भएको थियो र महिलाको मृत्युको वास्तविक कारण के हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
“घटनाको जानकारी पाउनासाथ हामीले प्राविधिक टोली परिचालन गरी अभियुक्तहरूलाई ५ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएका छौँ। घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिनेछ,”
जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले भने।




