असार ३, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिई आफ्नो अध्ययन पूरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई कडा निर्देशन दिएको छ।

विश्वविद्यालयको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै उनिहरुलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

​सूचना अनुसार, अध्ययन बिदा पछि नियमानुसार सेवामा नफर्केका वा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक तथा कर्मचारीहरूलाई समितिको कार्यालयमा तत्काल सम्पर्क गर्न भनिएको छ।

निर्धारित समय सीमाभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमानुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

​त्रिविको अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने एक विशेष सुविधा हो।

तर केही प्राध्यापकहरूले यो सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएको त्रिविले जनाएको छ।

यसले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र प्राज्ञिक क्षति पुगेको छ।

​यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिविको सक्रियतामा अघि बढाइएको हो।

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ।

बाँकी रकम असुली प्रक्रिया पनि निरन्तर अघि बढाइने विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय