साउन ७, निजगढ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका–७ स्थित लचका पुलमा पिकअपले ईलेक्ट्रिक साइकललाई ठक्कर दिँदा एक जना वृद्ध घाइते भएका छन्।
आज दिउँसो करिब ३:३० बजेको समयमा निजगढबाट पथलैयातर्फ जाँदै गरेको म.प्र-०३-००१ च १५८५ नम्बरको पिकअपले सोही दिशामा गुडिरहेको ई-साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी ई-साइकल चालक निजगढ नगरपालिका–७ निवासी ६९ वर्षीय माधव पण्डित घाइते भएका छन्।
ठक्करबाट पण्डितको टाउको, बायाँ घुँडा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते पण्डितलाई तत्कालै उद्धार गरी निजगढस्थित सामुदायमा आधारित प्रसूति गृह अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको र छोरा शरण पण्डितको रेखदेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने पिकअप र त्यसका चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ बस्ने पर्शुराम चौधरीका २० वर्षीय छोरा राहुल चौधरीलाई नियन्त्रणमा लिएको छ।
हाल दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालक इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




