साउन ११, निजगढ। बारा जिल्लाको परवानीपुर गाउँपालिका-५ नौतनस्थित एक पेट्रोल स्टोरमा मोटरसाइकलमा पेट्रोल हाल्ने क्रममा अचानक आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ।
आज सोमबार अपरान्ह अन्दाजी ३:३० बजेको समयमा ऋसभ आलय स्टोरमा ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल हाली स्टार्ट गर्न लाग्दा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीका कारण मोटरसाइकललगायत पेट्रोल हाल्ने एक थान डिस्पेन्सर समेत जलेर नष्ट भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक राजदेव यादवको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिई गएको थियो।
स्थानीय बासिन्दा, अग्नि नियन्त्रक उपकरण र प्रहरीको संयुक्त प्रयासमा आगलागी १० मिनेटपछि पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सौभाग्यवश,उक्त घटनामा कुनै पनि प्रकारको मानवीय तथा चौपाया क्षति भने भएको छैन।
घटनालगत्तै मोटरसाइकल चालक भने फरार रहेका र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



