भदौ २, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवस्थित बासुदेव खहरे खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्।
घटना विवरणअनुसार, सोही वडास्थित निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट विद्यालय छुट्टी भएपछि घरतर्फ जाँदै गरेका बालिकाहरू बाटोमा पर्ने खहरे खोलाको लच्का तर्ने क्रममा अचानक आएको बाढीले उनीहरूलाई बगाएको थियो।
आज साँझ अन्दाजी ६ बजे घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा २० जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्य सुरु गरेको थियो।
खोजतलास गर्ने क्रममा बस्तिपुर बस्ने दीप स्याङताङकी ८ वर्षीया छोरी रोसनी स्याङताङलाई बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला पारिएको थियो।
तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको छ।
त्यसैगरी, सोही स्थान बस्ने सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन बाढीबाट आफैँ निस्कन सफल भएकी छिन्। सामान्य चोटपटक लागेकी उनको उपचारका लागि हेटौँडा अस्पताल लगिँदै छ।
घटनामा बेपत्ता भएका टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलनको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजी कार्य तीब्र पारिएको छ।
बेपत्ता बालिकाहरूको थप खोजी तथा उद्धारका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको कमाण्डमा ११ जना, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हेडक्वार्टर हेटौँडाबाट सशस्त्र प्रहरी उपरीक्षक निबन कुमार खड्काको कमाण्डमा १७ जनाको टोली तथा नेपाली सेनाको टोली समेत परिचालन भई अहिले खोजी कार्य जारी राखिरहेको छ।



