कार्तिक ६, जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–४, पटेर्वामा आयोजित अर्केस्ट्रा कार्यक्रममा पेस्तोल जस्तो देखिने वस्तु प्रदर्शन गर्दै नाचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक युवती पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका–६ निवासी २६ वर्षीया नाजिमा खातुन रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई कात्तिक ४ गते राति गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाबाट नियन्त्रणमा लिएको हो।
टिकटक र फेसबुकमा भिडियो बनाउने उद्देश्यले प्रदर्शन गरिएको उक्त वस्तु सक्कली पेस्तोल नभई पेस्तोल आकारको लाइटर वा खेलौना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यद्यपि, सार्वजनिक स्थानमा हातहतियार जस्तो देखिने वस्तु प्रदर्शन गरी समाजमा भय, त्रास र हिंसा फैलाउन उत्प्रेरित गरेको तथा सो भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको हुनाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उक्त वस्तुको वास्तविकता र प्राप्तिबारे प्रहरीले थप सोधपुछ तथा कानुनी अनुसन्धान अगाडि बढाएको छ। भिडियोमा देखिएका अर्का एक युवक भने अझै फरार रहेको र उनको खोजी भइरहेको जनाईएको छ।



