कार्तिक ९, निजगढ।बारामा भएका दुई फरक-फरक घटनामा एक वृद्ध र एक बालकको मृत्यु भएको छ।
पहिलो घटनामा कोल्हवी नगरपालिका–२ निकास टोलस्थित खेतको डिलमा नाम, थर र वतन नखुलेका अन्दाजी ६०-६२ वर्षका पुरुष अचेत अवस्थामा फेला परेका थिए।
जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले निजलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएकोमा उपचारकै क्रममा साँझ १७:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन। कालो वर्ण, करिब ५.६ फिट उचाई, सेतो कपाल भएका, सेतोमा हरियो धर्सा भएको गम्छा घाँटीमा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङ्गको धोती लगाएका ती व्यक्तिको दाहिने हातको नाडीमा रातो धागो र साइँली औंलामा औंठी रहेको छ।
उनको शव अस्पतालमा सुरक्षित राखिएकोले चिन्ने वा आफन्त हुनेले जिल्ला प्रहरी कार्यालय बारामा १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
यसैगरी, अर्को घटनामा विश्रामपुर गाउँपालिका–५ इटियाहीमा विषालु कोब्रा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
भारतको बिहार पूर्वी चम्पारण पकडिया घर भई हाल मामाघरमा बस्दै आएका गजेन्द्र प्रसाद पालका ४ वर्षीय छोरा आदित्य प्रसाद पाल मामाघर अगाडि खेलिरहेको बेला साँझ १७:३० बजे बायाँ खुट्टामा विषालु कोब्राले डसेको थियो।
गम्भीर घाइते बालकलाई नारायणी अस्पताल वीरगन्ज पुर्याइएलगत्तै चिकित्सकले जाँच गर्दा साँझ १८:०० बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
प्रहरी चौकी मुसहरवाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरेको छ भने बालकको शव मामाले अस्पतालबाट घरमा ल्याएर राखेका छन्।



