भदौ २८,हेटौंडा । सञ्चो अस्पताल हेटौंडामा कार्यरत दुई चिकित्सकमाथि भएको आक्रमणको बिरोध गर्दै विभिन्न स्वास्थ्य संघहरुले निन्दा गरेको छ । नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल औषधि व्यवसायी संघ मकवानपुरले बिरामीको उपचार गरीरहेको अवस्थामा अस्पतालभित्रै प्रवेश गरी आक्रमण गरी गम्भिर घाईते बनाउनेहरुउपर कानुनी कार्वाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ । नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम अविलम्ब कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
“नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरुलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघको गम्भीर आपत्ति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । संघका महासचिव डा.सन्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिए नेपाल चिकित्सक संघ चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ ।
यस्तै, नेपाल स्वास्थ्यकर्मी संघले पनि यो घटनाको निन्दा गर्दै विज्ञप्ती जारी गरेको छ । संघका जिल्ला उपाध्यक्ष सुधीर दाहालले जारी गरेको विज्ञप्तीमा “चिकित्सक माथि उच्छृङ्खल जमातले गरेको सांघातिक आक्रमणको संघ घोर भत्सर्ना गर्दछ । यस किसिमको गतिविधिले स्वास्थ्य क्षेत्रमा गंभीर असर पुर्याउने भएकोले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै दोषीमामाथि हदैसम्मको कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी नेपाल औषधि व्यवसायी संघ मकवानपुरले पनि घटनाको घोर आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको छ । संघका उपाध्यक्ष संघर्ष गुरुङले जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि भएको सांघातिक आक्रमणले मकवानपुरको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै सञ्चो अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र डा.विकास थापामाथि बुधबार केही युवाहरुले अस्पतालमै कुटपिट गरेका थिए । कुटपिटबाट विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुनिएको छ ।
गत साउन २५ मा हेटौंडा–१२ का राजेश प्रधानको डेंगुबाट मृत्य भएको थियो । प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो । प्रधानको उपचारमा सन्चो अस्पतालका चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय